मुगु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमूना अभ्यास प्रदर्शन गरिएको छ ।
नेपाली सेनाको हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो । निर्वाचन अवधिमा एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
जिल्लास्थित तीनवटै सुरक्षा निकाय– नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा जिल्ला निर्वाचन कार्यालयको समन्वयमा एकीकृत सुरक्षा तालिमअन्तर्गत उक्त प्रदर्शन गरिएको हो । निर्वाचनका क्रममा हुनसक्ने विभिन्न निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने अभ्यास सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा प्रस्तुत गरेका थिए ।
मतदान केन्द्र सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त भूमिकाबारे पनि नमूना अभ्यासमार्फत जानकारी दिइएको हनुमानध्वज गुल्म, हुटुका सेनानी खड्गबहादुर श्रेष्ठले बताए ।
एकीकृत तालिमको अन्तिम दिन आयोजित सुरक्षा प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले निर्वाचन शान्तिपूर्ण बनाउन राजनीतिक दलहरू स्वयं पनि मर्यादित र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले निर्वाचनका क्रममा विभिन्न स्वरूपका घटना हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस्ता अभ्यासले मतदान केन्द्रलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने बताए ।
यस सुरक्षा अभ्यासले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


