माठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले दैलेखमा ग्यास उत्खनन् गरेको र अब घरघरमा पुर्याउने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । उनले अब आफू सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने बताएका छन् । उनले भनेका छन्, ‘हामीले गत मंसिरमै व्यवसायिक उत्पादनको योजना सहित काम अघि बढाएका थियौँ । तर भदौमा नै हामी सरकारबाट बाहिरिएपछि त्यसको काम अघि बढ्न सकेन । हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्नेछौँ ।’

त्यस्तै, उनले विकासको लागि सपना देख्नुपर्ने, त्यसलाई साकार पार्ने तयारी थाल्नुपर्ने र त्यस अनुसारको कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले भनेका छन् :
‘मैले पहिलोपटक सरकारको नेतृत्व गर्दा देशमा नाकाबन्दीले खाना पकाउने ग्यास लगायत दैनिक जीवनमा प्रयोग हुने इन्धनको अभाव थियो । त्यसबेला मैले नेपालीको मनोवल कमजोर नहोस् भनेर हामी आफैं ग्यास उत्खनन् गर्छौं र पाइपबाट नै भान्सामा ग्यास आउने बनाउँछौं भनेको थिएँ । सरकारमा हुँदा हामीले दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गर्यौं र उत्खनन् गर्ने काम अघि बढायौं । हामी सरकारमा हुँदा नै गतवर्ष १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भयो । त्यसको नमूना परीक्षण सफल भएपछि हामीले गत मंसिरमै व्यवसायिक उत्पादनको योजना सहित काम अघि बढाएका थियौँ । तर भदौमा नै हामी सरकारबाट बाहिरिएपछि त्यसको काम अघि बढ्न सकेन । हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्नेछौँ ।’


