काठमाडौँ । नेपाली साहित्यका नारीरत्न माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको बताएकी छन् । त्रिमूर्ति निकेतनले प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनदेखि विश्व नारी नेपाली साहित्य सम्मेलनसम्म गरेर उल्लेखनीय योगदान गरेको उनले बताइन् । शनिबार उन्नाइसौँ त्रिमूर्ति दिवस समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै ठकुरीले भनिन्- ‘त्रिमूर्ति निकेतनकै साथमा नइ एकेडेमीले आगामी चैत २७,२८ र २९ गते ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ ।’
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाली साहित्य विकास परिषद् बेलायतका संस्थापक अध्यक्ष सुरेशजङ्ग शाह, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी तथा बालकृष्ण सम फाउन्डेसनका संयोजक नाट्य भूषण मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले नेपाली साहित्यमा त्रिमूर्तिको योगदानबारे मन्तव्य प्रकट गरेका त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिएका छन् । समारोहमा गोपाल पराजुलीले कविता समेत वाचन गरेका थिए ।


