२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 5:24 pm
राजनीति

पार्टीमा बसेर भोट नहाल्नेलाई कारबाही हुन्छ : ओली

सूचना प्रेस २०८३ कार्तिक २८ शनिबार ००:००, १७:१६ बजे २ मिनेट पढाइ

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको जिम्मेवारीमा बसेर पार्टीकै उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।

बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीमा बसेर पार्टीकै विरुद्ध जाने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए। पार्टी नछाड्ने तर भोट भने अन्य दलका उम्मेदवारलाई दिने जस्तो बेइमानी अरू केही हुन सक्ने बताए।

उनले भने, ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो।’

पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम गर्ने गरेको भन्दै असन्तुष्टि जनाए। यस्तो गतिविधि देखिएमा अब चुप लागेर नबस्न र तत्काल कारबाही प्रक्रिया अघि बढाउन उनले निर्देशन दिए।

जिल्लास्तरमै पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गरेर केन्द्रमा सिफारिस पठाउन निर्देशन दिए। केन्द्रले पनि प्राप्त जानकारीका आधारमा छानबिन गरी आवश्यक कारबाही गर्ने प्रस्ट पारे।

ओलीले थपे, ‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस्, त्यहीँबाट कारबाही गरेर सिफारिस पठाउनुस्। स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य पाइएमा कारबाही गरिहाल्ने गर्नुपर्छ।’

उनले एमाले विचार, सङ्गठनात्मक अनुशासन र एकताका आधारमा चल्नुपर्नेमा जोड दिए। पार्टीभित्रका अन्तर्विरोध तथा मनमुटाव अन्त्य गर्न पनि निर्देशन दिए। जिल्ला, पालिका र वडा तहसम्म बैठक आयोजना गरी आपसी असमझदारी हटाएर एकताबद्ध भएर अघि बढ्न उनले आग्रह गरे।

नेता तथा कार्यकर्ताहरू जनतामाझ पुग्न नसकेको भन्दै सङ्गठनात्मक गतिविधि प्रभावकारी बनाउनुपर्ने बताए। उनले कार्यकर्तालाई जनतामाझ पुगेर पार्टीको विचार, सदाचार र इमानदारी स्थापित गर्न निर्देशन दिए।

फागुन २१ को चुनावमा पार्टीको सङ्गठित सदस्य रहेकाभन्दा कम मत आएकोप्रति असन्तुष्टि जनाए। उनले नेता कार्यकर्तालाई स्थानीय र प्रदेशसभाको चुनावमा केन्द्रित हुन पनि निर्देशन दिए।