काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानमा अर्को मुद्दामा सजाय सुनाइएको छ । इरानको अदालतले उनलाई साढे ७ वर्षको जेल सजाय सुनाएको हो ।
यो जानकारी उनका वकिल मुस्तफा निलीले आइतबार सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
वकिल मुस्तफा निलीले लेखेका छन्, ‘उनलाई ’मिलेमतो र षड्यन्त्र’ आरोपमा ६ वर्ष र ’प्रचार गतिविधि’को आरोपमा डेढ वर्षको जेल सजाय सुनाइएको छ ।’
मोहम्मदीले धेरैपटक जेल सजाय भोगिसकेकी छन् । २०२४ डिसेम्बरमा उनलाई स्वास्थ्यका कारण तीन हप्ताका लागि जेलबाट अस्थायी रिहाइ गरिएको थियो ।
यद्यपि गार्जियनको रिपोर्टअनुसार कार्यकर्ता र पश्चिमी देशका दबाबका कारण उनको रिहाइ लम्ब्याइएको थियो । उनलाई पछिल्लोपटक २०२५ डिसेम्बरमा अन्त्येष्टिमा ‘भडकाऊ बयान’ दिएको आरोपमा पक्राउ गरिएको थियो । त्यस मुद्दामा उनलाई इरानको मसहदस्थित अदालतले साढे ७ वर्षको जेल सजाय सुनाएको हो ।
५३ वर्षीया मोहम्मदीलाई इरानमा महिलालाई हुने उत्पीडनविरुद्ध काम गरेबापत २०२३ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।


