काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको दिगो विकास र समृद्धिका लागि विध्वंसात्मक बाटो त्यागेर संवाद र सुधारको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन्। क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको भविष्य अराजकतामा नभई विश्वास र सुधारमा मात्र सुरक्षित रहेको बताएका हुन् ।
अध्यक्ष दाहालले भदौ २३ र २४ गतेका घटनाले लगानीकर्ताको मनोविज्ञानमा गहिरो चोट पुर्याएको र निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्र बलियो हुन नसक्ने चेतावनी दिए। भ्रष्टाचार र कुशासनविरुद्ध नागरिकले आवाज उठाउनु जायज भए पनि त्यसको आवरणमा हुने भौतिक विनाशले मुलुकलाई असफल राष्ट्रतर्फ धकेल्ने उनको भनाइ छ।
‘नाफा कमाउनु अपराध होइन, यो व्यवसाय सञ्चालनको अनिवार्य आधार हो,‘ उनले भने, ‘उद्यमीले जोखिम मोलेर गर्ने लगानी र कमाउने नाफाबाटै नयाँ रोजगारी सिर्जना हुने र राज्यले कर पाउने कुरा सबैले बुझ्न जरुरी छ।’
अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै अध्यक्ष दाहालले भदौको प्रदर्शनका क्रममा निजी क्षेत्रमा ३४ अर्ब रुपैयाँको प्रत्यक्ष भौतिक क्षति र ८१ अर्ब रुपैयाँ बराबरको अप्रत्यक्ष आर्थिक क्षति भएको जानकारी दिए। ९८ प्रतिशत व्यवसायीको मनोबल खस्कनु र ९७ प्रतिशतले लगानीको वातावरण कमजोर भएको महसुस गर्नु अर्थतन्त्रका लागि खतराको घण्टी भएको उनले उल्लेख गरे।
उनले भदौ २३ को आन्दोलन भ्रष्टाचार विरुद्ध भए पनि २४ गतेको विध्वंश स्वाभाविक नभई राष्ट्रको अस्तित्वमाथि नै हमला भएको जिकिर गरे। नेपाल अहिले पनि एफएटीएफको ‘ग्रे लिस्ट’ मा पर्न सक्ने जोखिममा रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सुशासन र अन्तर्राष्ट्रिय मापदण्डप्रति व्यवहारमै प्रतिबद्धता देखिनुपर्ने बताए।
राज्यले सही शासन व्यवस्था सञ्चालन गर्न नसक्दा नागरिकमा आक्रोश जन्मिनु स्वाभाविक भए पनि भौतिक संरचनाको विनाश त्यसको समाधान नभएको उनको तर्क छ। राष्ट्रिय सभाले लगानीको सुरक्षा सुनिश्चित गर्न र व्यवसायमैत्री कानुन निर्माण गर्न सदैव तत्पर रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे।


