१ जेष्ठ २०८३, शुक्रबार 1778826651
Banner

जादु वा चमत्कारले विकास हुँदैन, अबको ५ वर्ष खेर फाल्नु हुँदैनः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको पूर्वाधार विकासमा रहेका नीतिगत र संस्थागत उल्झन चिर्दै अबको पाँच वर्षमा रूपान्तरणकारी परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै थापाले आयोजनाहरू समयमै सम्पन्न नहुँदा देशले ठूलो आर्थिक क्षति बेहोर्नु परेको भन्दै आफ्नो पार्टीको ध्यान अब गुणस्तरीय र पारदर्शी पूर्वाधार निर्माणमा केन्द्रित हुने बताए।

थापाले नेपालमा पूर्वाधार निर्माण समयमै नहुनुलाई विकासको मुख्य बाधकका रूपमा चित्रण गरेका छन्। आयोजना लम्बिँदा लागत त बढेको छ नै, यसले अर्थतन्त्रको उत्पादकत्वमा पनि ठूलो असर पारेको छ, उनले भनेका छन्, यसको ुअपरचुनिटी कस्ट (अवसर लागत) अत्यन्तै उच्च छ । सडक र सिँचाइजस्ता जनजीवनसँग जोडिएका आयोजनाहरूलाई समयमै र पारदर्शी रूपमा सम्पन्न गर्नु कांग्रेसको मुख्य प्राथमिकता रहने उनको भनाइ छ।

विकासका लागि कुनै जादु वा चमत्कार पर्खेर बस्न नहुने भन्दै उनले ठोस काम गर्नुपर्नेमा जोड दिए। थापाले आगामी पाँच वर्षभित्र नेपालको पूर्वाधार क्षेत्रमा एउटा ठूलो र सकारात्मक परिवर्तन भएको कुरा स्थापित गर्न सकिनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। उनले भिडियो सन्देशमार्फत मतदाता र नागरिकलाई विकासका लागि सिस्टमु सुधारको बाटोमा लाग्न अपिल समेत गरेका छन्।