टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन् । घटना रकी पर्वतमालाको फेदीमा अवस्थित सुरम्य पहाडी उपत्यका सहर ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भएको हो ।
रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) ले जारी गरेको विज्ञप्तिअनुसार कुल २७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्य २५ जनालाई विभिन्न किसिमको चोटपटक लागेको छ ।
क्यानाडाली सञ्चारमाध्यमहरूले बन्दुकधारी महिला भएको जनाएका छन् । तर आरसिएमपीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संदिग्धको पहिचानबारे विस्तृत विवरण दिन अस्वीकार गरेको छ ।
प्रहरीका अनुसार मङ्गलबार दिउँसो टम्बलर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको चेतावनी जारी गरिएको थियो । सुरक्षाकर्मीहरूले विद्यालय परिसरको खोजी गर्दा छ जनालाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । अर्को एक जना घाइतेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । प्रहरीले पीडितहरूको उमेर र आक्रमणमा प्रयोग भएका हतियारबारे गोपनीयताका कारण अहिले केही खुलाएको छैन । एजेन्सी


