२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:01 pm
राजनीति

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो : अर्थमन्त्री

सूचना प्रेस २०८२ फाल्गुन १ शुक्रबार ००:००, १८:१४ बजे १ मिनेट पढाइ

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्रो हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय सूचना आयोगको आज सयुक्त रूपमा आयोजना गरेको ‘मिडियामा सूचनाको हकको प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तरक्रियामा उनले बुझाएका सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिए । “मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, तर सार्वजनिक गर्दा राम्रो हुन्छ”, उनले भने, “मन्त्रिपरिषद्का निर्णयहरू सबै सार्वजनिक गर्ने गरेका छौँ ।”

सबैलाई समान अवसर प्राप्त हुनुपर्ने र पारदर्शी पनि हुनुपर्ने उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्र सही ढङ्गले अगाडि बढाउन पनि सही सूचनाको जरुरी हुने स्पष्ट पारे । सूचनाको हक पत्रकारका लागि मात्र नभएर सबैका लागि भएको उल्लेख गर्दै मन्त्री खनालले थपे, “पत्रकारले भन्दा पनि गैरपत्रकारले सूचनाको हक प्रयोग गरी सूचना लिएर दुरूपयोग गरेकासमेत पाइएको छ, सही सूचना नागरिकमा पुर्‍याउनसके मात्र नागरिक सूसुचित हुन्छन् ।”

अर्थमन्त्री खनालले मुलुकको अर्थतन्त्र सही ढङ्गले चल्न सही सूचना जरुरी हुने र व्यवसाय र आर्थिक काम गर्दा समान अधिकार दिन सूचना सार्वजनिक अनिवार्य भएको बताए ।