काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि आर्थिक सहयोग अभियान थालेको छ ।
अनेरास्ववियुले आर्थिक संकलनका लागि ‘हिल साम्बा’ सहयोग अभियान सुरु गरेको हो । देशभर रहेका तहगत कमिटीहरूलाई सक्रिय रूपमा परिचालन भई समन्वित, पारदर्शी र उत्तरदायी ढंगले सहयोग संकलन अभियान सञ्चालन गर्न निर्देशन गरिएको अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामी आफैंले पनि ५ हजार रुपैयाँ सहयोग गरेको स्क्रिनशटसहित सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै आर्थिक सहयोग गर्न सोमबार सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् ।
साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ । अहिले साम्बालाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ ।


