३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 2:05 pm
समाचार

चैतमा स्थानीय तहको निर्वाचन गर्न आयोगको सुझाव

सूचना प्रेस २०८३ कार्तिक ३० सोमबार ००:००, १४:०० बजे २ मिनेट पढाइ

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल अघि बढेको छ। निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार आगामी चैतभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने सुझाव सरकारसमक्ष राखेको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानलाई आधार मानेर आयोगले निर्वाचनको तयारी अघि बढाएको हो।

आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीका लागि कम्तीमा १२० दिनको समय लाग्ने बताउँदै आएको छ। त्यसैले निर्वाचनको मिति समयमै घोषणा गर्नुपर्ने आयोगको जोड छ। स्थानीय तह निर्वाचनको मिति भने आयोगसँग परामर्श गरेर सरकारले नै तोक्ने कानुनी व्यवस्था छ।

यसअघि निर्वाचन आयोगले फागुनको अन्तिम सातामा निर्वाचन गर्ने गरी तयारी अघि बढाएको समाचार सार्वजनिक भएको थियो। तर पछिल्लो समय चैतको तेस्रो वा अन्तिम सातालाई उपयुक्त समयका रूपमा प्रस्ताव गरिएको हो । यद्यपि सरकारले निर्वाचनको औपचारिक मिति घोषणा गरिसकेको छैन।

निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली अन्तिम रूप दिने, निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने, मतदान केन्द्र व्यवस्थापन गर्ने, जनशक्ति परिचालन गर्ने र आवश्यक निर्वाचन सामग्रीको व्यवस्था गर्नेलगायतका काम अघि बढाउनुपर्नेछ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा २२५ ले गाउँसभा र नगरसभाको कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ भने स्थानीय तह निर्वाचन ऐनले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान राखेको छ।