काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेलाई कारबाही हुनुपर्ने बताए।
बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार गरेको प्रमाणित भएमा राजनीति छोड्ने जिकिर गरे। सुशासनका सवालमा आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
‘कसैले राजेन्द्र लिङ्देनले एक रुपैयाँ भ्रष्टाचार गरेको छ, मैले कुनै काम गराउँदाखेरि एक रुपैयाँ घुस लिएको छु अथवा मसँग घुस लिएको छ भन्ने प्रमाणित गर्छ भने म सारा राजनीतिक जीवन छोडेर त्यसको नोकर बस्न तयार छु भनेर ललकारेको मान्छे हुँ,’ लिङ्देनले भने, ‘हामी सुशासनको सवालमा पूर्णरुपमा प्रतिबद्ध र इमानदार छौँ मात्र होइन, हामीले मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जातो पनि चलाउँछौँ।’
त्यसका लागि उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार सम्बन्धी छानबिनलाई उदाहरणका रुपमा प्रस्तुत गरे। आफूले पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गरेर फाइल अगाडि बढाएको उनले बताए।
‘लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारबारे छानबिन गर्ने दुर्इ वटा उपसमिति एकैसाथ बनायो, एकैदिन बनायो। पोखरामा हामीले छानबिन गर्यौँ, परिणाम दियौँ। आज कोही खोरमा छन्, कोही खोरमा जाने लाइनमा छन्,’ लिङ्देनले भने, ‘तर भैरहवाको त फाइल पनि खुलेन। अत्तोपत्तो पनि छैन।’


