काठमाडौं । नेपाल सरकारले तत्काल इजरायल र इरानको यात्रा नगर्न अपील गरेको छ । सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको हो ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुबै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको छ ।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएको छ । हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ, ‘इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्, सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।’



