दमक । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।
आज यसै क्षेत्र अन्तर्गतको दमक १ मा आयोजीत चुनावी कार्यक्रममा उनले विकस, राष्ट्रियता र राष्ट्रवादी अडानका कारण ओलीको विकल्पमा अरु नेता नभएको र आसन्न चुनावमा यस क्षेत्रमा समेत उहाँनै निर्विकल्प रहेको बताएका हुन् । आफु ताप्लेजुङ्को बासिन्दा भएको उल्लेख गर्दै त्यहाँको तुलनामा झापा ५ मा भएको विकासले पनि यहाँका मतदाताले ओलीलाईनै रोज्नेमा आफु ढुक्क रहेको बताए ।
चुनावको मुखमा कतिपय ठेगाना विनामा झिल्केहरु उम्मेद्वार भएको उल्लेख गर्दै त्यस्ताको इतिहास र भविष्य केहि नहुने उनले बताए । ‘उनीहरु आँफैको त न इतिहास छ, न भविष्य छ, त्यस्ताबाट देश र जनताले के अपेक्षा गर्न सक्छन् र’– उनले भने ।
भट्टराईले अहिले देश र संविधानलाई संकटमा पार्न खोजिएको भन्दै एमाले देशको अभिभावक पार्टी भएकाले चुनाव पछि सवै सम्हाल्ने दावि समेत गरेका छन् । आफ्ना नेतासँग जिज्ञासा, गुनासा र प्रश्न राख्ने अधिकार जनतालाई रहेको उल्लेख गर्दै उनले सोहि कारण पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रत्येक नागरिकको गुनासाको संवोधन गरि रहेको समेत बताए ।
जनताका प्रश्नहरुबाट भाग्नेले देश बनाउँछन् भनेर आशा राख्नुनै बेकार रहेको समेत उनको भनाइ छ ।


