विराटनगर । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ ।
उनले आज मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता गरेका हुन् । पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई मात्रै देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताए ।
मोरङ क्षेत्र नम्बर ६ बाट पटकपटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उहाँले अहिले सदन मा आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल्ने भएकाले पार्टीभन्दा माथि उठेर उहाँलाई जिताउनुपर्ने बताए ।
मोरङ–६ ले बलियो आवाज प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उनले मोरङ– ६ को समग्र हित र स्थिरता र प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको घोषणा गरेका हुन् ।
सबै एक भएर मोरङ– ६ को समृद्धि लाई अगाडि बढाउने विनोद ढकाल मात्रै उपयुक्त पात्र भएको उनले बताए । आफ्नो उम्मेदवारी पार्टीभन्दा माथि उठेर देश र क्षेत्रको विकासका लागि भएको बुढाथोकीले चर्चा गरेका छन् ।
उनको प्रवेशसँगै र समर्थनसँगै नयाँ युवाहरूको भावना र उर्जालाई अगाडि बढाउन विनोद ढकाललाई थप सहयोग पुग्ने र यसले विजयको यात्रालाई सुनिश्चित गरेको नेकपा एमाले विराटनगर महानगरपालिका अध्यक्ष नवीन गिरीले जानकारी दिए ।


