काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।
मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले प्रशिक्षण दिएर खटाइएको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ ।
यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । उनीहरूका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
यसपटकको चुनावमा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट तीन हजार ४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला र १ अन्यं चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार .१,३६३ पुरुष र १,७७२ महिलां प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्रको सक्कलप्रति नभएका मतदातालाई मतदानबाट वञ्चित नहुने व्यवस्था गरेको छ । त्यस्ता मतदाताले परिचयपत्रको विकल्पमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर पनि मतदान गर्न सक्नेछन् । साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिइने आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ । यसका लागि ७९ हजारभन्दा बढी नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी, १ हजार ९०० भन्दा बढी राष्ट्रिय अनुसन्धानका अधिकारी र करिब डेढ लाख म्यादी प्रहरीसहितको सुरक्षा फौज परिचालन गरिएको छ । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।


