धनगढी । बझाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित महर यसपटक फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।
महर १८ हजार ५४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश स्नेही रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे । महरले रसाइलीलाई २ हजार २३९ मत अन्तरले पराजित गरेका हुन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गरे भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेशबहादुर सिंहले ९ हजार ३६३ मत पाए ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा महर जितको नजिक पुगेर पनि रोकिएका थिए । त्यसबेला नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग उनी ९९८ मतको झिनो अन्तरले पराजित भएका थिए ।
जोशीले २८ हजार ४१३ मत ल्याउँदा महर २७ हजार ४१२ मतमा रोकिएका थिए । यसपटक भने महरले सो हारको बदला फराकिलो जितसहित लिएका छन् ।
बझाङको जयपृथ्वी नगरपालिका–७ (साविक सुवेडा गाविस)मा जन्मिएका महर विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०५० सालको दासढुंगा काण्डपछि एमाले राजनीतिप्रति आकर्षित भएका उनी अनेरास्ववियुको क्याम्पस कमिटी हुँदै केन्द्रीय अध्यक्षसम्म बने ।
२०७८ सालमा एमाले केन्द्रीय सदस्य बनेका महर शैक्षिक रूपमा पनि अब्बल मानिन्छन् । उनले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र, ग्रामीण विकास र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने हाल एमफिल/पिएचडी गर्दैछन् । उनकी श्रीमती त्रिभुवन विश्वविद्यालयमा सह–प्राध्यापक छिन् ।
चुनाव जितेपछि महरले ‘सुखी बझाङी, समृद्ध बझाङ’ को नारासहित आफ्ना भावी योजना सार्वजनिक गरेका छन् । उनले बझाङको गरिबी नै आफ्नो मुख्य प्रतिस्पर्धी रहेको बताए ।
महरले आफू आर्थिक रूपमा सम्पन्न परिवारबाट आएकाले कुनै पनि आर्थिक प्रलोभन वा कमिसनको लोभमा नपरी जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाएका छन् ।


