५ आश्विन २०८१, शनिबार 1726918320
Banner

वातावरण संरक्षणलाई ध्यानमा नराखि गरिएको विकास दिगो हुँदैन : अध्यक्ष ओली (भिडियो सहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणलाई ध्यानमा नराखि गरिएको विकास दिगो नहुने बताउनुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा अखिल नेपाल महिला संघले आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले पृथ्वीको वातावरण बिग्रिएको भएपनि जीवनको अस्तित्व रहनेगरि मात्रै बिग्रिएकाले यसमा खुसी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानव र जीवजन्तुको अस्तित्व रहन बाँच्न लायक वातावरण छ, प्रकृतिले वेला वेला आफनै क्षमताले सुद्धिकरण गरिरहेको छ ।’

अध्यक्ष ओलीले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरुसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि स्मरण गराउनु भयो । तर त्यो सन् २०२० मा कोभिडका कारण अघि बढन नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो ।

ओली भन्नुभयो, ‘हामी सरकारबाट हटेपछि कसले सोच्ने वातावरणको बारेमा । पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को वातावरण ? त्यो सबै टुंगियो कुरा । त्यसकारण अहिले यी सब कुराहरुतिर सरकारका मान्छेहरुलाई थाहा छैन । केही रुचि छ कि छैन, ज्ञान छ कि छैन । उहाँहरु हेर्नु हुन्छ कि हुन्न ? मैले देखेको के हो भने–व्यूरोक्र्याटसले ड्राफ्ट गरिदिएका फरमेट भित्रका स्टेटमेन्ट वाचन गरिदिने खालको स्थिति बनेको देख्छु । त्यसबाट हामीले अलिमाथि उठ्न जरुरी छ ।’ वातावरणीय बिषयमा विदेशी फोरमहरुमा बोल्दा,अरुले तयार गरिदिएको रित पुरयाउनका लागि मात्र सहभागिता होइन, विदेशी मन्चमा जादा वातावरणीय संरक्षणमा पहल हुनेकुरामा सजग हुनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।