काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब ४ करोड अमेरिकी डलर (झण्डै ५ अर्ब ८७ करोड रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेको छ।
एडीबीका अनुसार उक्त रकम नेपालमा डिजिटल रुपान्तरणलाई तीव्र बनाउन तथा नागरिक र व्यवसायका लागि डिजिटल सेवाको पहुँच विस्तार गर्न प्रयोग गरिनेछ। यस परियोजनाले विशेषगरी डेटा होस्टिङ, साइबर सुरक्षा र सरकारी डिजिटल पूर्वाधार सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
यो कार्यक्रम दक्षिण एसियामै पहिलोपटक एडीबी र विश्व बैंकको सहकार्यमा सञ्चालन हुन लागेको डिजिटल रुपान्तरण परियोजनाअन्तर्गत नेपालमा कार्यान्वयन गर्न लागिएको हो।
परियोजनाबाट सुरक्षित सरकारी डेटा एक्सचेन्ज प्लेटफर्म विकास गर्ने, डिजिटल सेवा प्रणालीलाई आधुनिक बनाउने र सार्वजनिक सेवा वितरणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। कार्यक्रमको कार्यान्वयन सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले गर्ने जनाइएको छ।


