काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ । हालको व्यवस्था व्यवहारिक नभएको निष्कर्ष निकाल्दै रास्वपाले संसदीय दलको नेता चयनसम्बन्धी प्रावधान परिवर्तन गर्न लागेको हो ।

रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । सो धाराको उपधारा ८ (ख) अनुसार संसदीय दलको नेता चयन गर्दा ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । तर उक्त व्यवस्था कार्यान्वयन गर्न कठिन हुने देखिएपछि विधान संशोधनको प्रक्रिया अघि बढाइएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
उनले भनिन्, “संसदीय दलको नेता चयन गर्ने प्रक्रिया समयअनुकूल बनाउन आवश्यक संशोधन गरिन्छ । अहिलेको व्यवस्था व्यवहारिक देखिएन, त्यसैले नयाँ विधि बनाउने तयारी भइरहेको छ ।”
सम्पूर्ण सदस्यबाट मतदान गराएर संसदीय दलको नेता चयन गर्ने व्यवस्था सम्भव नभएकाले अब निर्वाचित सांसदहरूबीचबाटै नेता चयन गर्ने प्रावधान ल्याइनेछ ।
रास्वपा स्रोतका अनुसार विधान संशोधनपछि संसदीय दलको नेता सर्वसम्मत रूपमा बालेन्द्र शाहलाई बनाउने तयारी छ । पार्टीको विधानअनुसार सरकारको नेतृत्व संसदीय दलको नेताले गर्ने व्यवस्था भएकाले भावी नेतृत्वलाई ध्यानमा राख्दै यस्तो तयारी गरिएको बताइएको छ ।


