काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिलाई खतरामा पारेसँगै जापानले आफ्नो आपतकालीन तेल भण्डार खोल्ने निर्णय गरेको छ । साथै, जापानी सरकारले इन्धनको मूल्य नियन्त्रण गर्न कदम चाल्ने वाचा गरेको छ ।
जापानले आफ्नो कच्चा तेलको लगभग ९५ प्रतिशत मध्यपूर्वबाट आयात गर्ने गरेको छ । यदि समुद्री मार्गहरूमा अवरोध जारी रह्यो भने तेल आयातमा ठूलो गिरावट आउनसक्ने चेतावनी पनि जापान सरकारले दिएको छ ।
जापानी अधिकारीहरूका अनुसार आपूर्ति स्थिर राख्न र इन्धनमा निर्भर उद्योगहरूलाई राहत प्रदान गर्न आवश्यक परेमा आपतकालीन तेल भण्डारहरू रिफाइनरीहरूमा ढुवानी गरिनेछ ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूला आक्रमण गरेको थियो । आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित शीर्ष नेताहरु मारिएका थिए । त्यसबेलादेखि दुवै पक्षले ड्रोन र मिसाइल आक्रमणहरू गरिरहेका छन् । साथै, इरान र उसका सहयोगीहरूले होर्मुज जलडमरूमार्ग अवरुद्ध गरेर बदला लिइरहेको छ । इरानले यस मार्गबाट गुज्रने कुनै पनि जहाजमाथि आक्रमण हुनसक्ने चेतावनी यसअघि नै दिइसकेको छ ।


