सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–११, पिप्लेगाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन् । कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपकसहित आइतबार (चैत १) बिहानदेखि सम्पर्कविहीन भएकी सुर्खेत प्रहरीका डीएसपी मोहनजंग बुढ्थापाले जानकारी दिए ।
आइतबार बेलुका उनका श्रीमान् भूपेन्द्र कठायतले छोराछोरीसहित श्रीमती सम्पर्कविहीन रहेको प्रहरी चौकी गुमीलाई जानकारी गराएका थिए । त्यसपछि चौकीका वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा चार सुरक्षाकर्मी र वडाध्यक्षसहित स्थानीयले खोजतलास सुरु गरेका थिए ।
खोजतलासका क्रममा घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गरेका झोला, सल, चप्पल र एकथान मोबाइल फेला परेको डीएसपी बुढ्थापाले बताए ।
तीनैजनाको खोजतलासका निम्ति भेरी नदी र त्यस आसपासको क्षेत्रमा ३५ प्रहरी परिचालन गरिएको छ । रासस


