काठमाडौँ । समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदको नामावली प्रकाशित गरेसँगै नयाँ प्रतिनिधि सभाका २७५ सांसदको टुङ्गो लागेको छ ।
सोमबार निर्वाचन आयोगले समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएको घोषणा गरेसँगै प्रत्यक्ष र समानुपातिकतर्फका २७५ सांसदको टुङ्गो लागेको हो।

१८२ सिट प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ ।
प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू
समानुपातिकतर्फ निर्वाचित सांसदहरू
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घोषणा गरेको छ। सोमबार आयोगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरुको सूची प्रकाशित गरेको हो ।
यस अघि पेस भएको बन्दसूचीबाट आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा पेस गरेपछि आयोगले सोमबार ११० जना निर्वाचित भएको घोषणा गरेको हो ।
आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।
आयोगका अनुसार ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना छन्।





