काठमाडौंः विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवद्र्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ।

विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ। विश्वमा रहेका नेपाली मूलका नागरिकहरुको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ०ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षणसहित माग गर्दै आएको थियो। गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि उक्त संस्थाले स्वागत पनि गरेको छ।
आइतबार अध्यागमन विभागले सो निर्णय गरेर त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेसँगै सो संस्थाले विज्ञप्तिमार्फत् गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रसाशनलाई धन्यवाद ज्ञापन गरेको हो।
एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरुले आफूहरु सम्मानित भएको महसुुस गरेका छन्। यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्याउने विश्वास लिएका छौँ।’


