२५ बैशाख २०८३, शुक्रबार 1778247056
समाचार

उपसभामुखप्रति रूष्ट हर्क, प्रधानन्यायाधीस सिफारिसमा हस्ताक्षर गरेको भन्दै जनाए आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारले विधि मिचेर प्रधानन्यायाधीस सिफारिस गरेको पनि आपत्ति जनाएका हुन् ।

वरियतामा चौथो स्थानमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीस नियुक्त गर्नु सरकारको ठूलो गल्ती भएको उनको भनाइ छ । सहकारी ठगी, जेनजी आन्दोलनको मुद्दालाई आफ्नो पक्षमा पार्न सरकारले शर्मालाई प्रधानन्यायाधीस सिफारिस गरेको साम्पाङको आरोप छ ।

यस्तै उनले उपसभामुख रुवीकुमारीले हस्ताक्षर गरेकोप्रति आपत्ति जनाएका छन्। सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा पार्टीबाटै गएकी उपसभामुखले समेत हस्ताक्षर गरेकोप्रति उनले असन्तुष्टि जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नियुक्तिसम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ । यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी विरोध गर्दछ ।’