काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ। प्रस्तावअनुसार महाधिवेशन २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा आयोजना गर्ने तयारी गरिएको छ। महाधिवेशनको तयारीस्वरूप पार्टीले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकलाई पहिलो प्राथमिकतामा राखेको छ।

२०८२ साल चैत्र २१ गतेदेखि चैत्र मसान्तसम्म विशेष अभियान सञ्चालन गरी सदस्यता फारम सबै तहमा पु¥याइनेछ भने सो कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइने जनाइएको छ।
यस्तै, २०८३ साल वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गरिनेछ। सदस्यता अद्यावधिकका लागि सम्बन्धित व्यक्तिले आफु आबद्ध रहेको वडामै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
सो अवधिमा सबै वडा तथा क्षेत्रीय कार्यसमितिलाई आवश्यक ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराइनेछ।सदस्यता विवरण संकलन र प्रमाणीकरणका काम जेठ महिनाभरि तीव्र रूपमा अघि बढाइनेछ।
वडाबाट संकलित विवरण जेठ १५ गतेभित्र प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्ने लक्ष्य राखिएको छ भने जेठ मसान्तसम्म सबै विवरण केन्द्रमा पठाइसक्ने कार्यतालिका छ। यस अवधिमा जिल्ला स्तरीय छानविन समितिले उजुरीमाथि आवश्यक जाँचबुझ गरी केन्द्रमा प्रतिवेदन पठाउनेछ।
केन्द्रले भने असार १५ गतेभित्र सदस्यतासम्बन्धी सबै विवाद र पुनरावेदन टुङ्ग्याई अन्तिम सूची तयार गर्नेछ। सो सूची असार मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ र त्यसकै आधारमा निर्वाचनको विस्तृत कार्यतालिका निर्माण गरिने जनाइएको छ।
यसैगरी, नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन २०८३ साउन मसान्तभित्र सम्पन्न गरिनेछ। त्यसपछि पार्टीका तल्ला तहका अधिवेशनहरू क्रमशः सञ्चालन हुनेछन्। साउन ६ गते सबै वडामा अधिवेशन, साउन १२ गते गाउँ तथा नगर अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछन्।
जिल्ला अधिवेशन भदौ ६ र ७ गते तथा प्रदेश अधिवेशन भदौ १५ र १६ गते गर्ने प्रस्ताव गरिएको छ। अन्ततः केन्द्रीय महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना गरिनेछ, जहाँ नयाँ नेतृत्व चयनसहित महत्वपूर्ण राजनीतिक निर्णयहरू लिने तयारी गरिएको छ।


