काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमाथि बहस नसकिएपछि आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ। सर्वोच्च अदालतमा दुई दिनदेखि सुनुवाइ चलिरहेको रिटमाथि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो। यो रिटमाथि हिजाे सोमबार पनि सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि आजका लागि सारिएको थियो। अब यस रिटमाथि बिहीबार सुनुवाइ तोकिएको रिट निवेदनकर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।


