४ आश्विन २०८१, शुक्रबार 1726842327
Banner

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रकृयासंगत ढंगले अघि बढाउन माग गरेका हुन् ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् । ‘महाभियोग प्रस्तावबारे छलफल चल्दा हाम्रो पार्टीका माननीयहरूले प्रस्ताव अघि बढ्नुपर्‍यो, गिजोलेर राख्नु भएन भनेर धारणा राख्नुभएको हो’, एमाले प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले भन्नुभयो, ‘महाभियोग गिजोल्न मात्रै ल्याएको हो कि टुङ्गो लगाउन ल्याइएको हो भन्ने प्रश्न गर्नुभयो ।’

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलका ९८ जना सांसदले १ फागुन २०७८ मा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको थियो । तर, जबराविरुद्धको उक्त प्रस्ताव अझै महाअभियोग सिफारिस समितिमा नपठाइएको भन्दै एमालेले प्रश्न उठाएको हो ।

महाअभियोग सिफारिस समितिमा एमालेका चारजना, कांग्रेस र माओवादी केन्द्रका दुई-दुई जना, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक जना सांसद सदस्य रहेका छन् ।