४ आश्विन २०८१, शुक्रबार 1726834834
Banner

निवर्तमान मेयर विद्यासुन्दर शाक्य भन्छन, हामीले गरेको कामको जस लिने कार्य बालेनले गर्दैछन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकामा देखिएको फोहोर व्यवस्थापन समस्याको समाधानका लागि आफुले लागि परेर काम गरेको बताउनुभएको छ । नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइटमा पदमा रहेका वखत वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने कार्यमा कयौं पटक सिसडोल पुगेर छलफल गरेको उहाँले बताउनुभयो ।

फोहोर व्यवस्थापनका लागि ततकालिन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अझ बढि खटिएर काम गरेको उहाँले बताउनुभयो । उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधिको टोलीले ल्याण्डफिल्ड साइटको अनुगमनसँगै फोहोर व्यवस्थापनमा दीर्घकालिन उपायका बारेमा पटक पटक छलफल गरेको उहाँले स्मरण गर्नुभयो ।

पटक–पटकको छलफलपछि अहिले बञ्चरे डाँडामा आधुनिक र वैज्ञानिक ढंगको सेनिटरी ल्याण्डफिल्ड साइड निर्माण कार्य अन्तिम चरणमा पुगेकाले जस लिने समयमा बालेन पुगेको उहाँको तर्क थियो । फोहोर बिसर्जनसँगै स्थानीयका माग अनुसार रोजगारीका कुरा, स्वास्थ्य विमाका कुरालगायतका विषयलाई भने गम्भिर रुपमा लिनुपर्ने शाक्यको भनाइ छ । नवनियुक्त मेयर बालेनलाई यतिबेला सामाजिक सञ्जालबाट राम्रो सहयोग प्राप्त भएको बताउँदै शाक्यले भन्नुभयो, हामीलाई जस्तो बालेनलाई काम गर्न गाहो छैन, ईच्छाशक्ति भयो भने उहाँले अझ धेरै गर्नसक्नुहुन्छ ।