उदयपुर । उदयपुरको धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव–२०८२’ चैत २९ गतेदेखि सञ्चालन हुने भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सव पाँच दिनसम्म सञ्चालन हुने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिए ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ । महोत्सवको समापन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव लगायत विशिष्ट अतिथिहरूको सहभागिता रहने महोत्सव व्यवस्थापन समितिका संयोजक दिनेश श्रेष्ठले बताए ।
महोत्सवलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आयोजक समितिले मधेश प्रदेशका सम्पूर्ण पालिकाका प्रमुख/उपप्रमुखहरूलाई निमन्त्रणा गरेको जनाएको छ भने कोशी प्रदेशका छिमेकी जिल्लाका केही पालिकाहरूमा समेत निमन्त्रणा गरिएको जनाइएको छ ।
महोत्सव अवधिभर प्याराग्लाइडिङ प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, स्थानीय परिकार प्रदर्शनी, झाँकी प्रदर्शन तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमार्फत रौतामाई–त्रियुगा क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय संस्कृति संरक्षण तथा आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । रौतापोखरी जिल्लाको रौतामाई गाउँपालिका–६ मा अवस्थित प्राकृतिक पोखरी समुद्री सतहबाट करिब ५९०० फिट (१७७० मिटर) उचाइमा रहेको छ । करिब एक बिघा क्षेत्रफलमा फैलिएको पोखरी जिल्ला सदरमुकाम गाईघाटबाट करिब २० किलोमिटर उत्तरमा पर्दछ ।
धार्मिक विश्वासअनुसार यहाँ स्नान तथा पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । पोखरी नजिकै रहेको रौता मन्दिर मा दैनिक रूपमा कुमारी देवी (भगवती)को पूजा हुने गर्दछ । मन्दिर परिसरमा विवाह, व्रतबन्ध, भजन–कीर्तन, माघे संक्रान्ति मेला, मकर स्नान, कार्तिके विम्बा तथा बाबाजीहरूले धुनी लगाउने धार्मिक परम्परा निरन्तर रूपमा चल्दै आएको छ ।
स्थानीय मान्यताअनुसार रौतापोखरी, बाराहा पोखरी र क्षिता पोखरी लाई ‘तीन दिदीबहिनी पोखरी’का रूपमा लिने गरिन्छ । उच्च भू–भागमा अवस्थित भए पनि पोखरीको पानी वर्षभरि नसुक्ने स्थानीय विश्वास छ । उच्च उचाइ, चिसो मौसम, धार्मिक महत्त्व तथा मनोरम प्राकृतिक दृश्यावलोकनका कारण रौतापोखरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
आयोजकका अनुसार महोत्सवले रौतामाई–त्रियुगा क्षेत्रलाई प्रदेशस्तरीय पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।


