काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो भएको बताएका छन्।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार स्म्मेलन गर्दै उनले प्रतिवेदनमा भदौै २३ को आन्दोलनबारे प्रकाश पार्न खोजिएको भएतापनि २४ गतेको घटनालाई अलपत्र छाडिएको बताए।
उनले भने,‘अहिले जेनजी आन्दोलनको विषयमा प्रतिवेदन आएको छ। यसलाई विशेषगरी के भन्छौ भने प्रथम दृष्टिमा अपूर्ण र अधुरो देखियो। पूर्णता पाएको जस्तो देखिएको छैन्। २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएका जस्तो देखियो। यद्यपी त्यो प्रतिवेदन थप गम्भीर अध्ययन गर्छौ। हामीले एउटा धारणा बनाउन कानुनविद ,प्रशासनमा अनुभव भएका, जेनजी आन्दोलनमा सहभागीहरुसँग छलफल गर्नेछौं।’
त्यस्तै उनले जनादेशबाहेक शासनको स्रोत अरु केही नभएको बताए। पार्टीले हारेपनि प्रणालीले हार्न नहुने उनको भनाई छ।देशको राजनीतिक परिवर्तनमा विशिष्ट स्थिति देखा परेको छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। जनादेश बाहेक शासनको स्रोत अरु केही भन्ने कुरा स्थापित भएको छ। पार्टी हार्ने जित्ने भइरहन्छ, तर प्रणाली हार्न हुँदैन्,’उनले भने।


