काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बन्न लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सफल कार्यकालको शुभकामना दिएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले बालेनको काँधमा ऐतिहासिक कार्यभार आएको बताउँदै उनको नेतृत्वमा देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरे ।
‘ऐतिहासिक कार्यभार बहन गर्न लाग्नुभएका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर श्री बालेन्द्र शाहलाई सफल कार्यकालको हार्दिक शुभकामना !’ भट्टराईले लेखेका छन्, ‘आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ–राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिदै गएको भू–राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्स्थापन गर्दै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस् !’
उनले लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेसी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआइमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गर्नुपर्ने उल्लेख गरेका छन् । ‘कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौँ !’ भट्टराईले भने ।


