काठमाडौँ । चिनियाँ प्रधानमन्त्री ली छियाङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई सन्देश पठाएका छन् । चिनियाँ प्रधानमन्त्री लीले शनिबार नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाएका हुन् ।
बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी देशहरू भएको र कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा दुई राष्ट्रहरूले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूद्वारा निर्देशित द्विपक्षीय सम्बन्ध विकास गरेको कुरामा जोड दिएका छन् ।
उनले नयाँ सरकारलाई चीनको समर्थन रहेको बताउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको लागि निरन्तर समर्थन रहेको बताएका छन् ।
चिनियाँ प्रधानमन्त्री लीले बेल्ट एन्ड रोड इनिसिएटिभलाई संयुक्त रूपमा अगाडि बढाउन र उच्च स्तरमा धेरै क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न प्रधानमन्त्री शाहसँग नजिकबाट काम गर्न तयार रहेको समेत सन्देशमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री लीको बधाई सन्देशमा विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकारी साझेदारीलाई बढाउन चीन प्रतिबद्ध रहेको बताइएको काठमाडौँस्थित चिनियाँ राजदूतावासद्वारा सामाजिक सञ्जाल फेसबुकमा जारी सूचनामा उल्लेख छ ।


