काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने भएको छ ।
बुधबार सिंहदरबारस्थीत संसद सचिवालयमा बसेको सर्वदलीय बैठकमा चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन गर्नेगरि तालिका बनाउने सहमति जुटेको हो ।

सभामुख चयनका लागि बिहीबार बस्ने पहिलो बैठकमा नै निर्वाचनको प्रस्ताव प्रस्तुत हुने र चैत्र २० गते मनोनयन दर्ताका लागि समय छुट्टाउने गरि प्रक्रिया अघि बढ्ने रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यस्तै प्रतिनिधिसभाको बैठक सञ्चालनको लागि नयाँ नियमावली नबन्दासम्म पहिलेकै नियमावलीबाट बैठक सञ्चालन गरिने उनले बताए ।
त्यसैगरि पहिलो बैठकमा जेनजी आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिने र दलका शीर्ष नेताहरुले शुभकामना मन्तव्य दिने तय भएको छ ।
रास्वपा सांसद बुर्लाकोटीले कार्यव्यवस्थामा रास्वपाका सांसदहरुको संख्या अलि बढि रहेकाले अरु दलका सांसदहरुलाई प्रतिनिधित्व गर्ने बिषयमा छलफल भएको र यस बिषयमा पार्टीभित्र पनि छलफल गर्ने बताए ।
त्यस्तै बैठकपछि राप्रपा सांसद खुश्वु ओलीले राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई हरेक समितिमा प्रतिनिधित्व गराउने बिषयमा आफुले कुरा राखेको बताइन् । प्रतिनिधिसभा नियमावलीमा संशोधन गर्ने बिषयमा पनि पार्टीका तर्फबाट आवश्यक सुझाव राखिएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउसो २ बजे संसद भवन सिंहदरबारमा बस्दैछ । सो बैठकको कार्यसूची तयार गर्न संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुसँग संसद सचिवालयले छलफल गरेको हो ।


