काठमाडौं : नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले आफ्नो एमालेमा आन्तरिक लोकतन्त्र कमजोर र संकुचित भइसकेको टिप्पणी गरेका छन् । सांसद सुहाङ नेम्बाङले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक नपाएको प्रसंग उठाउँदै पाण्डेले यस्तो जनाएका हुन् ।
“संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको छ,” पाण्डेले फेसबुकमा लेखेका छन्, “एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो ।”
उनले यसलाई दमनकारी प्रवृत्ति भनेका छन् । “जब नेतृत्व “म नै पार्टी र पार्टी नै म” भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ,” पाण्डेले भनेका छन्, “यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ ।”
पार्टी ९ सिटमा खुम्चिएको भन्दै यस्तो अवस्थामा पनि चेत नखुले भने कहिले खुल्ने ? भन्दै प्रश्न गरेका छन् । अनि उनले एमालेमा अव साहसिक परिवर्तन र नयाँ मार्गचित्र चाहिएको उल्लेख गरेका छन् । “अब स्पष्ट छ- पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन । पार्टीलाई कसैको ‘निजी क्लब’ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ,” पाण्डेले भनेका छन् ।


