३० बैशाख २०८३, बुधबार 1778729940
Banner

नयाँ वर्षदेखि काठमाडौँमा रात्रिकालीन बस चल्ने, कहाँ कहाँ चल्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिका ले नयाँ वर्ष २०८३ देखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ। बेलुका पछि सार्वजनिक सवारी नपाउँदा यात्रुहरूलाई पर्ने सास्ती घटाउने उद्देश्यले यो योजना अघि सारिएको हो।

महानगरका अनुसार दुई वटा मुख्य रुटमा विद्युतीय बस सञ्चालन गरिनेछ। पहिलो रुट उत्तर–दक्षिण दिशामा ललितपुरको लगनखेलबाट सुरु भएर पाटन क्षेत्र, विभिन्न प्रमुख अस्पतालहरू हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। दोस्रो रुट पश्चिम–पूर्व दिशामा थानकोटबाट सुरु भई कलंकी, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ।

यी रुटहरूमा सुरुआतमा चार वटा बस चलाइने छन्। सेवा राति ८ बजेदेखि ११ बजेसम्म रहनेछ भने प्रत्येक बस करिब २० मिनेटको अन्तरमा उपलब्ध हुने जनाइएको छ।

यात्रु सुरक्षालाई ध्यानमा राख्दै बसमा सीसीटिभी क्यामेरा जडान गरिनेछ र नगर प्रहरीको निगरानी पनि रहनेछ। महानगरले यस सेवाबाट राति यात्रुहरूलाई सहज, सुरक्षित र सुलभ आवागमन हुने विश्वास लिएको छ।