काठमाडौँ : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सांसदहरूलाई दबाबमा पारेर संसदीय दलको नेता चयन गरेको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो आरोप लगाएका हुन्।
एमाले संसदीय दलको नेतामा रामबहादुर थापा बादल सर्वसम्मत चयन भएका छन्। अर्का प्रत्यासी सुहाङ नेम्वाङले उम्मेदवारी फिर्ता लिएका थिए। सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली गिरफ्तारीमा परेको बेला पार्टीमा छलफल नगरी सांसदलाई दबाब दिएर हतारमा निर्णय गरिएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको छ’ उनले लेखेका छन्, ‘केही दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन।’


