काठमाडौँ, २२ चैतः सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ ।
बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैङ्कबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो । बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृति दिएको छ । यसैगरी, बैठकले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गरेको छ भने डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय वाहनमा परिवर्तन गर्न व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ।


