बेरुत । इजरायलले लेबनानमाथि अहिलेसम्मकै भीषण हवाई आक्रमण गरेको छ। अघिल्लो महिना हिजबुल्लाहसँग सुरु भएको संघर्षयताकै यो सबैभन्दा घातक हमला हो।
बुधबार भएको यस ठुलो स्तरको सैन्य कारबाहीमा २५४ जनाको ज्यान गएको छ भने १,१०० भन्दा बढी घाइते भएका छन्। अमेरिका र इरानबिच भएको दुई हप्ता लामो युद्धबिरामको केही घण्टा नबित्दै इजरायलले गरेको यो आक्रमणले पश्चिम एसियामा शान्तिको आशालाई फेरि अनिश्चिततातिर धकेलिदिएको छ।
इजरायली सेनाले यसलाई युद्धकै सबैभन्दा ठुलो र समन्वयात्मक आक्रमण भनेको छ। राजधानी बेरुतसहित बेका भ्याली र दक्षिणी लेबनानमा १० मिनेटको छोटो अन्तरालमा हिजबुल्लाहका १०० भन्दा बढी कमाण्ड सेन्टर र सैन्य ठेगानाहरूलाई लक्षित गरी बमबारी गरिएको थियो।

बेरुतको आकाशमा धुवाँको मुस्लोले ढाकिएको थियो भने कैयौँ भवनहरू ध्वस्त भएका छन्। उद्धारकर्मीहरूले क्रेनको सहयोगमा भत्किएका भवनका माथिल्ला तलामा फसेका वृद्धवृद्धाहरूको उद्धार गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन्। एम्बुलेन्सको अभावमा सर्वसाधारणले मोटरसाइकलमा हालेर घाइतेहरूलाई अस्पताल पुर्याएका थिए भने अस्पतालहरूले रगत अभावका कारण रक्तदानका लागि अपिल गरेका छन्।
यो भीषण हमलापछि हिजबुल्लाहले पनि इजरायलको उत्तरी क्षेत्रस्थित मनारा किबुत्जमा रकेट प्रहार गर्दै प्रत्याक्रमण सुरु गरेको छ। हिजबुल्लाहले इजरायलले युद्धबिराम उल्लंघन गरेको आरोप लगाउँदै इजरायली-अमेरिकी आक्रमण नरोकिएसम्म आफ्नो प्रतिकार जारी रहने चेतावनी दिएको छ। यो युद्ध गत मार्च २ मा सुरु भएको थियो, जब अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको विरोधमा हिजबुल्लाहले इजरायलमाथि प्रहार गरेको थियो।
यसैबिच, युद्धबिरामको दायरालाई लिएर ठुलो अन्योल र विवाद सिर्जना भएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले लेबनानमा युद्धबिराम हुनु अमेरिका र इरानबिचको सम्झौताको अनिवार्य सर्त भएको बताएका छन्। तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने लेबनान इरानसँगको युद्धबिरामको हिस्सा नभएको स्पष्ट पार्दै हिजबुल्लाहमाथि पूर्ण शक्तिले आक्रमण जारी राख्ने घोषणा गरेका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र ह्वाइट हाउसले पनि लेबनान उक्त सम्झौतामा समावेश नरहेको दाबी गरेका छन्। भान्सका अनुसार इरानले लेबनान पनि सम्झौतामा छ भन्ने गलत बुझाइ राखेको हुनसक्छ।
यसअघि मध्यस्थताको भूमिका निर्वाह गरेका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले लेबनानलाई पनि युद्धबिराममा समेटिएको दाबी गरेका थिए। हिजबुल्लाहका सांसद इब्राहिम अल-मौसावीले पनि आफूहरूलाई युद्धबिरामको हिस्सा भनिएको र सोही अनुसार बुधबार बिहानैदेखि आक्रमण रोकेको तर इजरायलले नरसंहार मच्चाएर धोका दिएको आरोप लगाएका छन्।
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले यस घटनालाई भयानक नरसंहार भन्दै युद्धबिराम सम्झौता भएको केही घण्टामै यति ठुलो हत्या र विनाश हुनु अविश्वसनीय रहेको टिप्पणी गरेका छन्। एजेन्सी


