चैत २८ गते । “चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रमलाई भारतको पश्चिम चम्पारणस्थित बिहार सरकारले आफ्नो प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मानेको छ । बिहारभरिका सबै विद्यालयलाई अनुदान दिएर विद्यार्थीलाई अनिवार्य वाल्मीकि आश्रमको अवलोकन भ्रमणका लागि पठाउँछ । भैँसालोटनलाई वाल्मीकि नगर बनाएर प्रचार गरिरहेको छ । विगतमा त्रिवेणी भनेर नेपाली भूमि कहलिन्थ्यो, आज बिस्तारै यहाँको सौन्दर्य भारततिर उन्मुख भइरहेको छ,” त्रिवेणीस्थित गजेन्द्र मोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचार्यका यी कुराले भारतले वाल्मीकि आश्रमलाई कति महìव दिएको छ भन्ने छर्लङ्ङ हुन्छ ।
यो आश्रम महर्षि वाल्मीकि ऋषिले तपस्या गरेको, रामायण रचना गरेको, लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्रेतायुगमा भगवान् रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमुनि विलीन) गरेको स्थानका रूपमा पनि यसलाई चिनिन्छ ।
विश्वकै सबैभन्दा पुरानो साहित्यका रूपमा वाल्मीकि रामायणलाई लिइन्छ । यो त्यही भूमि हो जहाँ रामायण लेखिएको थियो तर यति महत्वपूर्ण भूमि सम्बन्धित निकायको बेवास्ताले ओझेलमा परेको छ । आफ्नै भूमिमा रहेको वाल्मीकि आश्रम जानका लागि बाटो नबन्दा यात्रुले कठिन परिस्थितिको सामना गर्दै भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ ।
आश्रम पुग्न नवलपुरको गैँडाकोट हुँदै ६० किलोमिटर पर बर्दघाट पुग्नु पर्छ । लुम्बिनी प्रदेशको बर्दघाटबाट दक्षिण २८ किलोमिटर पर रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक ब्यारेज कटेर भारत बिहार राज्यको वाल्मीकिनगर पुगेपछि आश्रम जान १० किलोमिटर पूर्व लाग्नु पर्छ । वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर सानो खोल्सो तरेपछि नेपालको भूमिमा रहेको जीर्ण स्वागतद्वारको अगाडि पुगिन्छ । जसमा लेखिएको छ, “नेपालमा हार्दिक स्वागत गर्दछौँ ।”
रामायण कथा अनुसार सीताका छोरा लव र कुशको यहीँ पठनपाठन भएको थियो । रामले लगाएको अश्वमेध यज्ञका बेला छाडेका घोडा पनि लव र कुशले समाएर बाँधेका थिए । आश्रममा यी घटनासँग जोडिएका पुराना वस्तु छन् । आश्रमवरपर सीता पाताल प्रवेश स्थल, अमृतकुण्ड, हवनकुण्डका अवशेष छन् । लव र कुशले घोडा बाँधेको खम्बा, पाठशालाको अवशेष, विष्णु चक्र, सीताको फलफूल बगैँचा र वाल्मीकि ऋषि अन्तरध्यान भएका स्थल पनि यहाँ छन् ।
आश्रम चितवनको माडीमा रहे पनि सडक सञ्जालले नछोएका कारण यसको संरक्षण र रेखदेखको जिम्मा विनयीत्रिवेणी गाउँपालिकाले गरिरहेको छ । भारतीय भूमि प्रयोग गरेर आश्रम जानुपर्ने बाध्यता अन्त्य गर्न भन्दै त्रिवेणीको गजेन्द्रमोक्ष धामबाट झोलुङ्गे पुल बनाइयो । भारतले झोलुङ्गे पुलदेखि वाल्मीकि आश्रमसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि आवश्यक पर्ने मेसिनरी सामान लैजान बाटो प्रयोग गर्न नदिएपछि स्थानीयले जनश्रमदान गरेरै पहुँच मार्ग बनाउने प्रयास पनि गरे तर त्यसले पनि पूर्णता पाएन ।
परिवारका सदस्यसहित आश्रम जान लाग्नुभएकी मध्यविन्दु १५ की ७१ वर्षीया यमकला पाण्डेले झोलुङ्गे पुलबाट अघि बढ्न नसकेको बताउनुभयो । “पुल बनेपछि त आफ्नै भूमिबाट वाल्मीकि आश्रम आउजाउ गर्न सजिलो होला भनिएको थियो,” पाण्डेले भन्नुभयो, “तर पुलअघिको बाटो राम्रो छैन भनेकाले यहीँबाट फर्कनुपर्ने भयो ।”
नेपालतर्फको बाटो नखुल्दा यहाँ पुग्ने तीर्थयात्रीले कठिन परिस्थितिको सामना गर्दै भारतीय भूमि प्रयोग गर्नुको विकल्प छैन । “भारतीय बाटो हुँदै जाँदा गण्डक ब्यारेजको मुखैमा रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले निकै कडाइ गर्छन् । त्यसपछि बिचमा वाल्मीकि टाइगर रिजर्भ वन पोस्ट छ । त्यहाँ टिकट नै काट्नु पर्छ । अन्तिममा पनि भारतीय सुरक्षा पोस्टमा सोधपुछ हुन्छ,” स्वामी कृष्ण प्रपन्नाचार्यले भन्नुभयो, “तीन/तीन ठाउँमा निगरानी भएपछि नेपालीले यो झन्झट बेहोरेर आश्रममा पुग्न कमै रुचाउने गरेका छन् ।”
चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गल र कष्टकर भूगोलका कारण माडीबाट आश्रम पुग्न सकिँदैन । आश्रम चितवनको सडक सञ्जालसँग पनि जोडिएको छैन । नारायणी नदीमा बनेको झोलुङ्गे पुलपारि पदमार्ग नबनेका कारण यात्रा कष्टकर हुने गरेको विनयीत्रिवेणी–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । वातावरण प्रभाव मूल्याङ्कन नहुँदा पटक पटक रोकिए पनि सात वर्ष लगाएर नारायणीमा पुल सम्पन्न भएको पनि तीन वर्ष पूरा भइसकेको छ तर पुलपारि बाटो नभएका कारण आश्रम आउजाउ गर्न समस्या भएपछि स्थानीय आफैँले श्रमदान गरी गोरेटो बाटो बनाए । त्यसपछि न त त्यसले पूर्णता पायो न त रेखदेख नै भयो ।
निकुञ्जले बस्ने पोस्ट छैन भनेपछि गण्डकी प्रदेश र त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम विकास समितिको बजेटबाट त्रिवेणीतर्फको पुलको मुखैमा सुरक्षा पोस्टको भवन पनि बनाइयो तर सुरक्षाका कारण भन्दै पोस्ट बस्न नमानेको बताउनुहुन्छ वडाध्यक्ष शाह । अहिले सुरक्षा पोस्टलाई निकुञ्जको आदेशमा मध्यवर्ती क्षेत्रले ताला लगाएको छ । “पुल त बन्यो तर यसको उपादेयता फोटो खिच्नमा मात्र सीमित छ, आफ्नै क्षेत्रमा रहेको वाल्मीकि आश्रम जान पनि आफ्नै भूमि प्रयोग गर्न नपाउनु सबैभन्दा दुःखको विषय भएको छ,” उपाध्यायले भन्नुभयो, “निकुञ्जका कारण बाटो बन्न सकेन भनिएको छ तर पुल बनाउने बेला निकुञ्जको स्वीकृतिले त बनेको थियो होला ।” निकुञ्जले गोरेटो बाटो बनाउन स्वीकृति दिएको छ तर बाटो बनाउन नसक्नुमा माडी नगरपालिकाका पनि आफ्नै व्यथा छन् । नगरप्रमुख ताराकुमारी काजी महतोले पर्याप्त बजेट पनि नभएको र मेसिन लैजान पनि समस्या भएकाले बाटो बनाउन नसकिएको बताउनुभयो ।
“बाटो बनाउन दुई/चार करोड नै बजेट चाहिने रहेछ, जुन हामीसँग छैन,” महतोले भन्नुभयो, “बजेट जोहो गरेर बाटो बनाउँ भन्दा पनि मेसिन लैजानै समस्या छ, कठिन भूगोलका कारण नेपालको बाटो भएर लैजान सकिन्न, भारतीय भूमि भएर लैजानका लागि अनुमति माग्न जाँदा भारतले अनुमति दिएन ।”


