भोजपुर । वसन्त ऋतुको आगमनसँगै भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ ।
यस पदमार्गका जंगल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आनन्द दिइरहेको छ ।
मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य मात्र नभइ सांस्कृतिक र धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । किराँत समुदायको मौलिक संस्कार, परम्परा र ‘मुन्दुम’ ९धार्मिक ग्रन्थ० सँग जोडिएको यो क्षेत्रले किराँत सभ्यताको जीवनशैली झल्काउँछ ।
पदमार्ग हुँदै यात्रा गर्दा स्थानीय समुदायको संस्कार, भाषा, भेषभूषा र परम्परागत जीवनशैली नजिकबाट अनुभव गर्न सकिने स्थानीय बताउँछन् । यिनै विशेषताका कारण पछिल्लो समय मुन्दुम पदमार्ग भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

वसन्त ऋतु पदयात्राका लागि सबैभन्दा उपयुक्त समय भएकाले यतिबेला आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत बताउँछन् । पर्यटकलाई लक्षित गरेर चखेवामा चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म रैथाने खाना महोत्सवसमेत आयोजना गरिएको उनको भनाइ छ ।
‘गुराँस, चापलगायत फूलसँगै मुन्दुम पदमार्गको सुन्दरता झन् बढेको छ । पर्यटकलाई लक्षित गरेर हामीले रैथाने खाना महोत्सव पनि आयोजना गरेका छौँ’, उनले भने ।
गुराँस फुल्ने मौसममा प्रकृतिप्रेमी, फोटोग्राफर तथा साहसिक यात्राका पारखीहरू मुन्दुम पदमार्गतर्फ आकर्षित हुने गरेका छन् । पदमार्गअन्तर्गत पर्ने टेम्केडाँडा, साल्पा पोखरी, सिलिचुङ, मैयुङडाँडाजस्ता पर्यटकीय स्थलहरू यतिबेला झन् आकर्षक बनेका छन् । टेम्केडाँडा तथा मैयुङडाँडाबाट देखिने हिमाली दृश्य, साल्पा पोखरीको धार्मिक महत्व र सिलिचुङको शान्त वातावरणले पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने गरेको छ ।
स्थानीय होटल तथा ‘होमस्टे’ व्यवसायी विवेक कुलुङका अनुसार गुराँस फुल्ने याम सुरु भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । पर्यटकको मागअनुसार बसोबास, खाना र मार्गदर्शन सेवा विस्तार गरिँदै आएको छ ।
मुन्दुम पदमार्गमा पछिल्लो समय पूर्वाधार विकासमा पनि सुधार हुँदै गएको छ । पदमार्ग चिन्हाङ्कन, विश्रामस्थल निर्माण, सूचना बोर्ड स्थापनालगायत कामले पर्यटकलाई सहजता प्रदान गरेको छ । स्थानीय तह, सङ्घीय सरकार, प्रदेश सरकार तथा पदमार्गमा आधारित पर्यटन परियोजना मिलेर संयुक्त रूपमा यस क्षेत्रको प्रवर्द्धनमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । (रासस


