१८ बैशाख २०८३, शुक्रबार 1777666241
Banner

भक्तपुरको प्रसिद्ध ‘बिस्का जात्रा’ आजदेखि शुरू

भादगाउँ (भक्तपुर)- भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

भक्तपुर बिस्काः नौ दिन आठ रात जात्रा

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।

बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पु¥याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

जात्राको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः( लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।

यसींद्योः कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यसींद्योः उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । यसींद्योः उठाइसकेपछि राति नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । तलेजुमा दुमाजुको विशेष पूजा गरी जात्रा गरिन्छ ।

यसींद्योः उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैलखः र भद्रकालीको रथलाई ल्यसिङखेलमा पुर‍्याइन्छ । यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ ।

बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते बिहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनहरुको भीड हुन्छ । यस दिन स्थानीय टोल टोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपूजन गरिन्छ । बेताललाई पोथी कुखुराको बलि दिइन्छ । साँझ भैरवनाइकेहरुले विधिवत् रुपमा पूजा गरी साँझ यसींद्योः ढालिन्छ । त्यसको लगतै भैलखः र भद्रकालीको रथलाई तानेर गाःहिटीमा पुर्‍याएर एकापसमा जुधाई सङ्गम जात्रा मनाइन्छ  । जसलाई स्थानीय भाषामा द्योः ल्वाकिगु जात्रा भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा गरिन्छ ।

जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसै दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा गरिन्छ भने खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ । आठाँै दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङगण, सतल र पाटीहरुमा राखेर पूजा गरी विभिन्न प्रसादहरु चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ । यो जात्रा दिनभरि मनाइन्छ ।

जात्राको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यस दिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको संस्कृतीविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो । भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिएको उहाँले भन्नुभयो ।

प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको, नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रम रहेको बताउनुभयो । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको हो । विश्व भैरवनाथको प्रतिक जात्राकोे चौथो दिन भेलुखेलको ल्यसिंङखेलमा उठाएको योसिंद्योःमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती ‘वि’ को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।

उहाँले भन्नुभयो, “नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्वकेतु, विरध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा र विरध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा ध्वाजा विश्वध्वाजा र विरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।”

जात्रामा पहिलो र अन्तिम दिन भैलखः तान्ने क्रममा झडप हुने गरेको छ । सम्भावित झडप रोकी जात्रालाई व्यवस्थित रुपमा मनाउन दिउँसो ३ः०० बजे भैलखः तानेर ५ः०० बजे जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा भैलखःले किचेर मानिसको मृत्यु हुने, जात्रा हुने स्थानका घर र सार्वजनिक पाटीपेटीमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न दिउँसो जात्रा सुरु गर्ने सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणबद्ध रुपमा सरोकारवालाहरुसँग छलफल गरेर विभिन्न रणनीति तयार गरेको बताउँदै प्रजिअ ढकालले यस वर्ष जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिनुभयो । जात्रामा उच्छृङ्खल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरुपमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने उहाँले बताउनुभयो ।

भैलखःमा अनियन्त्रित तरिकाले धेरै मानिस चढ्नाले रथबाट खसेर घाइते हुनु, च्याप्नु, किचेर ज्यान जाने भएकाले त्यसलाई नियन्त्रण गर्न भैलखःमा भैरव नाइके, गुथि र स्थानीय क्लबका सीमित पदाधिकारीहरु मात्र चढ्ने व्यवस्था गरिएको छ । साथै यस वर्ष रथमा बस्ने सबैले नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाएको छ ।

जात्रामा हुलदङ्गा गर्नेको पहिचानका लागि चोकचोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै प्रजिअ ढकालले क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी प्र्रचलिन कानुनबमोजिम कारबाही गरी विदेश जान नहुने गरी रेर्कड राखिने बताउनुभयो ।

के हो बिस्काः जात्रा ? बिस्काः जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा यसलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ । भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको उहाँको भनाइ छ । परापूर्वकालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो । बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः(लिङ्गों) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्नु हो । यक्ष मल्लको टौमढीको ने.सं. ५६१ को शिलापत्रमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर शहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा यसलाई ‘विश्वजात्रा’ को उल्लेख गरिएको छ । त्यस्तै ने.सं. ६४१ को भूमिसम्वन्धि तमसुक ताडपत्रमा “विसक जात्रा” उल्लेख छ । ने.सं. ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको ने.संं. ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाँउठाँउमा विश्वजात्रा नै भनिएको पाइन्छ । यता ने.सं. ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा “विसक्यात” उल्लेख छ । त्यस्तै भतmपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि “विसक्यात” रहेको छ । किंरातीहरुलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरुले यो जात्रा मनाएको भनाइ छ । लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतनपछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर विशाल नेपाल मण्डलकै राजधानी थियो, जुन यक्ष मल्लसम्म निरन्तर रहयो । यस अवधिको करिब ३६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो । त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जङ्गलहरु रहेको हुँदा सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिगों उठाउने गरियो । यसमा पछि एक जोडा ध्वजा थपियो । यसरी दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ । भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधिनस्थ कयौं राज्य स्वतन्त्र हुँदै भक्तपुरको भू–भाग सानो हुदै गएकोलाई उनका छोरा भुवन मल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोट जस्ता ठाउँहरुमा समेत विस्काः मनाउने चलन चलाएको बताइन्छ । भक्तपुरको विस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीहरुको समेत जात्रा पुजापर्व गर्ने परम्परा बसाउनमा भक्तपुरका विश्व मल्ल, गङ्गारानी, जर्गज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको बताइन्छ । अहिलेसम्म तलेजुमा बिस्काः जात्राको संकल्प पूजामा विश्व जात्रा महापर्व भनेर सम्बोधन गरिने बताउँदै उहाँले संस्कृत शब्द विश्व केतु पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको बताउनुहुन्छ । त्यसैको बिस्काबाट अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि यो जात्रालाई बिस्काः जात्रा भन्ने गरिन्छ । विक्रमसम्वत् अनुसार सौरमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाउँदै आएको हो भन्ने पनि भनाइ छ । जात्रा कहिलेबाट सुरु हुन्छ ? विश्वमा नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन चैत २७ गते बिहान स्थानीय बासिन्दा, मध्यान्हमा गुठी संस्थाबट सरकारी पूजा र त्यसपछि टोलको पूजा सकेपछि गरेपछि स्थानीय काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिसकेपछि भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको छ । पाँचतले मन्दिर प्राङ्गणबाट भैरबको रथलाई ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यस जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ । भैरवनाथको रथ तान्न सुरु भएपछि तौमढीबाट माथि र तलका बासिन्दाले तानेर भैरवनाथको रथ गःहिटीमा पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको मुख्य आकर्षण पहिलो दिन २७ गते र अन्तिम दिन ५ गते रथ तानातान गर्नु हो भने ३० गते ल्यासिंखेलमा ५५ हात लामो लिङ्गो उठाउने र बैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालेर मनाउने मुख्य जात्रा हो । यस्तो छ जात्राको किंवदन्ती जात्राको बारेमा फरक फरक किंमबदन्ती रहेको छ । पहिलो किम्वदन्तीअनुसार प्राचीन भक्तपुर राज्यको दरबारकी राजकुमारीसँग विवाह गर्न बलवान राजकुमारको खोजी गर्ने क्रममा बिभिन्न राज्यबाट राजकुमारहरु आउने र पहिलो दिन राजकुमारीसँग रात बिताउने क्रममा राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिन निस्केर राजकुमारलाई डसेर मार्ने गर्दथे । धेरै राजकुमारको त्यसरी मृत्यु भएपछि एक तान्त्रिकले एक रात आफ्नो तन्त्र विद्याबाट राजकुमारीको नाकबाट निस्केको नागनागिनलाई तरबारले काटेर झुण्ड्याएको खुसीयालीमा राजाले यो जात्रा मनाउन लगाएको विश्वास छ । यसबारेमा ईतिहासविद् प्राडा श्रेष्ठ भने बिस्का जात्राको विश्वनाथ भैरब र भद्रकालीसँग सम्बन्धित रहेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती ‘वि’ को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र फैलाएर जात्राको धार्मिक तथा ऐतिहासिक पक्षलाई भ्रम फौलाउन खोजिएको छ ।” यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको छ । यस अर्थमा पनि विश्व नाथको ध्वजा विश्वध्वजा हो । वीर ध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा वीर भनेर भैरवको वाहान वीर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र वीर ध्वाजा मान्न सकिन्छ । यो जात्रा किरातहरुसँगको युद्धमा विजयी भएपछि लिच्छवी राजाहरुले खुसीयालीमा दुई दिन मनाएको र पछि मल्ल राजाले यसलाई भैरब र भद्रकालीको जात्रा थप गरी आठ रात नौ दिन पु¥याएको बताइन्छ । जात्रामा के के हुन्छ ? प्राचीनकालदेखि चल्दै आएको विस्का जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको द्यःखः (रथ) जात्रा थप गरेपछि पनि पुनः काशी विश्वनाथ भैरबको जात्रा समावेश गरी विस्का जात्रा सञ्चालन गर्दै भक्तपुरवासीले मोहनी नखः (पर्व) पछिको प्रमुख चाडपर्वका रुपमा मनाउँदै आएको पाइन्छ । जात्राको पहिलो दिन भैरवनाथको रथ तान्नेर (क्वने) तल्लो क्षेत्र टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखु र ठने (माथिल्लो क्षेत्र) क्वाछे, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय स्थानसम्म रथ तानेर पुनः सोही स्थानमा फर्काइन्छ र भैरव र भद्रकालीको रथजात्रा गरी अन्तमा गःहिटीमा रथ पु¥याई पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फका जात्रालुहरूले रथलाई ‘होस्से..हैसे…हा..हा..’ गर्दै आफ्नोतर्फ तानेर जात्रा मनाइन्छ । रथ तान्ने जात्रामा हजारौँ स्थानीय बासिन्दाले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ–आफ्नो टोलमा लैजान खोज्छन् । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आर्कषक हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहाँ विजाइगु (देवता तल्ल आगमन हुने) भनिन्छ । त्यसदिन बेलुकी सम्पूर्ण देवगणहरु आ–आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराइन्छन् । यसलाई स्थानीय न्हाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छन् । दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु¥याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ जसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ । बिस्केटको चौथो दिन पुरानो वर्षको अन्तिम दिन चैतको ३० गते बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो (ल्हामरु म्ह) उभ्याइन्छ भन्ने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । लिङ्गो कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा, विश्वध्वजा आकाशभैरवका ध्वजासमेत भनिन्छ । एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुन्छ र लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केट जात्रा हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याइन्छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ । बिस्केटको पाँचाँै दिन नयाँ वर्ष वैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा (रथ जुधाउने टोलमा) भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा रहेको छ । यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् । जात्राको छैटौँ दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट् जुधाउने जात्रा, सातौं दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुधाउने जात्रा हुन्छ । जात्राको आठौँ दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वंगँ विइगु भनिन्छ । बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यो (देवता) थाहा विज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन बिस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । जात्रा अबधीमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ ।