काठमाडौँ। नेपालको पछिल्लो राजनीतिक इतिहासलाई हेर्ने हो भने तीन नेताको वरिपरि देशको कार्यकारी सरकार प्रमुखको कुर्सी घुमिरहेको थियो । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्प कमल दाहाल(प्रचण्ड)ले प्रधानमन्त्रीको कुर्सी आफु अनुकुल घुमाइरहन्थे ।
ओली–प्रचण्ड तीन–तीन पटक प्रधानमन्त्रीको कुर्सीमा बसीसकेको बेला पाँच पटक प्रधानमन्त्री बनेर छैटौँ पटक प्रधानमन्त्रीको कुर्सीमा बस्न पालो कुरिरहेकै बेला २०८२ भदौ २३ र २४ मा जेनजी आन्दाेलन भयो । जेनजी आन्दोलनमा तत्कालीन सरकार प्रमुख प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिँदै आर्मीकोे हेलीकप्टर चढेर सुरक्षित स्थानमा गए । तत्कालीन सरकारका विपक्षी दलका प्रमुख नेता प्रचण्ड सहितका नेताहरु आर्मीको घेराभित्र सुरक्षित रँहदा सत्तारुढ दलकै प्रमुख नेता कांग्रेसका सभापति देउवा दम्पतिले भने आन्दोनकारीबाट दुर्व्यवहारकाे साथमा कुटपिट समेत सहनुपर्यो ।
उक्त आन्दोलनपछि सरकार कसले चलाउने ? प्रधानमन्त्री को बनाउने भन्ने विषयमा जेन्जी अभियान्ताहरुबीच घनिभूत छलफल भयो । छलफलको क्रममा तत्कालीन काठमाडौँ महानगर प्रमुख बालेन्द्र साह(बालेन)को नाम अग्रपंक्तिमा आयो । तर, बालेन तत्काल प्रधानमन्त्रीको कुर्सीमा जान इच्छुक देखिएन । अन्तत भदौ २७ २०८२ मा बालेनकै सहमतिमा प्रथम महिला प्रधानन्यायधिस बनेर इतिहास रचिसकेकी सुशिला काकीलाई रास्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभयो ।
काकी नेतृत्वकोे अन्तरिम सरकारले २०८२ फागुन २१ मा संघीय निर्वाचन गर्ने मिति घोषणा गर्यो । २०७९ असार ७ गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने र बालेन शाहबीच निर्वाचनमा पूराना दलहरु विरुद्ध मिलेर जाने सहमति भयो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेरै निर्वाचनमा गयो । बालेनले झापा ५ अर्थात् एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको क्षेत्रमा गएर मनोनयन दर्ता गर्यो । निर्वाचन सम्पन्न भएर मतगणना हुँदै गर्दा शूरुदेखि नै उनले अग्रता लिइरहे । अन्तत ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै बालेनले ६८ हजार ३ सय ४८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी ओलीले १८ हजार ७ सय ३४ मत मात्र पाए ।
नेपालमा युवा शक्तिको लहरसँगै उदाएका बालेन शाह र सञ्चारकर्मबाट राम्रो छवी बनाएर राजनीतिमा होमिएका रवि लामिछानेको मिलनलाई नेपाली जनताले उत्साहका साथ अनुमोदन गर्दै रास्वपालाई झण्डै दुइ तिहाइमा दुइ कम अर्थात् २७५ मा १८२ सिट दियो ।
बालेनले २०८२ चैत्र १३ गते प्रधानमन्त्री पदको शपथ लिएर हाल देशको बागडोर सम्हाल्दै छन् । छोटो समयको राजनीतिक यात्राले नै देशको शक्तिशाली प्रधानमन्त्री बन्न् सफल भएका बालेन विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समेत परेका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन १४ औँ नम्बरमा परेका हुन्।
‘३५ वर्षीय पूर्व हिप–हप कलाकार शाहले मार्च महिनामा भएको निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै ३ करोड जनसंख्या भएको देशको नेतृत्व सम्हालेका’ भन्दै टाइमले उल्लेख गरेको छ ।
म्यागेजिन टाइमले पुराना र भ्रष्ट ठानिएका राजनीतिक शक्तिविरुद्ध जेनजी युवाहरूले सशक्त आवाज उठाएर विद्रोह गरेपछि आएको परिणामले बालेनलाई राष्ट्रिय राजनीतिको शीर्ष स्थानमा पुर्याएको विश्लेषण गरिएको छ।
‘सिभिल इन्जिनियरिङ पृष्ठभूमिका बालेन चार वर्षअघि काठमाडौँ महानगरपालिकाका मेयर बनेका थिए। मेयरको रूपमा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रयास गर्दै प्रशासनिक ढिलासुस्ती घटाएका थिए,’ टाइमले लेखेको छ।
टाइमले उनको उदयलाई दक्षिण एशियाको वंशवादी राजनीतिप्रति ठूलो चुनौतीको रूपमा हेरिएको छ। अब सबैको ध्यान स्थानीय तहमा देखाएको कार्यक्षमता बालेनले राष्ट्रिय स्तरमा पनि दोहोर्याउन सक्छन् कि सक्दैनन् भन्ने चासो रहेको उल्लेख गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प,देखि चीनका राष्ट्रपति सी चीनफिङसम्म परेको विश्वका १०० प्रभावशाली व्यक्तिहरुको सूचिमा नेपालको प्रधानमन्त्री बालेनको नाम पनि पर्नु नेपालीहरुको लागि गौरवको विषय रहेको एक रास्वपाका नेताले बताए । प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा बालेन छन् भने पोप लियो पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम छिन्। अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो र राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो नम्बरमा छन्।
पाँचौंमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, छैटौंमा न्युयोर्कका मेयर जोहरन ममदानी, सातौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, आठौंमा जापानकी प्रधानमन्त्री सनइ तकाइची, नवौंमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, दसौंमा नामिबियाकी राष्ट्रपति नेतुम्बो नन्दी नदैतवाह, एघारौंमा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ, बाह्रौंमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम, तेह्रौंमा स्पेसएक्सकी प्रमुख ग्वाइन शटवेल र चौधौंमा प्रधानमन्त्री बालेन शाह छन्।
पुराना राजनीतिक दलहरुबाट आजित भएका नेपाली जनताले बालेनसँग ठुलो आशा राखेका छन् । विशेषगरी प्रशासनिक कामको लागि दिनभर लाइन बस्नुपर्ने,विचौलिया बिना कुनै काम नबन्ने र काममा हुने ढिलासुस्ती जस्ता सामान्य कुराहरुलाई लिएर सुधार्ने अपेक्षा राखेका छन् । जुन हाल बालेन प्रधानमन्त्री भएदेखि सरकारी निकायहरुमा डिजिटल फाइल मार्फत काम सम्पन्न गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ ।
अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) यो सरकारले संसदबाट पास गराउन सक्ने टिप्पणी हुँदै गर्दा राष्ट्रिय प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बालेन नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने प्रतिवद्धतापछि जनतामाझ झनै उनीप्रित विश्वास बढेको पाइन्छ ।


