काठमाडौं- सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।
यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति र पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयले गहना पोखरीबाट भाटभटेनी मन्दिरसम्म पदयात्रा गर्ने कार्यालय प्रमुख पवनकुमार पोखरेलले राससलाई जानकारी दिनुभयो । पदयात्रा पछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम पनि गरिने जानकारी उहाँले दिनुभयो । कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहने जनाइएको छ ।


