२३ बैशाख २०८३, बुधबार 1778061322
Banner

बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय राख्ने प्रदेश सरकारको निर्णय

मकवानपुर- बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा ८ वटा मन्त्रालय राख्ने निर्णय गरेको हो ।

खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित ८ मन्त्रालय कायम गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी उर्जा तथा सिँचाई मन्त्रालय , उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा सामाजिक मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि पशुपन्छि वन तथा वातावरण मन्त्रालय रहेका छन् ।

हाल मौजुदा मन्त्रालयका १९८ रहेकोमा ५० वटा मातहतका कार्यालय घट्नेछ । जसले चालू तर्फको ५ अर्ब हाराहरीमा घट्ने प्रदेश सरकारको अनुमान रहेको छ । जनताको करबाट उठेको रकम अधिकतम् पूँजीगत क्षेत्रमा खर्च गर्नका लागि कायम गर्ने प्रदेश सरकारको तयारी रहेको प्रवक्ता तामाङले बताउनुभयो ।

यो आर्थिक वर्षको अन्तिमसम्मको लागि साविककै मन्त्रिमण्डल रहने र यो निर्णय आगामी आथिक वर्ष अर्थात् साउन १ गतेदेखि लागू हुने प्रवक्ता तामाङले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि ८ वटा मन्त्रालयले काम गर्ने ।

बैठकले प्रदेश ३ सचिवको पदस्थापन समेत गरेको छ । वैठकले चन्द्रबहादुर गोपालीलाई त्रिभुवन पार्क सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।