काठमाडौ- आज विभिन्न कार्यक्रम गरी ‘११औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस आज कै दिन मनाउन थालिएको हो । यस वर्षका लागि “सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार” राष्ट्रिय नारा तय गरिएको छ ।
दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरिएको छ । आजबाट गोरखापत्र स्थापनाको १ सय २६ औँ वर्षमा प्रवेश गरेको छ । गोरखापत्रको नियमित प्रकाशन आरम्भ विसं १९५८ वैशाख २४ गते सोमबारदेखि साप्ताहिक रूपमा भएको थियो ।
स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै आएको यस अखबारले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । गोरखापत्रका सहप्रकाशनमा अङ्ग्रेजी भाषाको ‘दी राइजिङ नेपाल’, मासिक पत्रिका ‘मधुपर्क’, ‘युवामञ्च’, ‘मुना’ र ‘गोरखापत्र अनलाइन’ संस्करण रहेका छन् ।


