२४ बैशाख २०८३, बिहिबार 1778161186
Banner

सार्वजनिक संस्थान सुधार अपरिहार्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताएका छन् ।

गोरखापत्र प्रकाशनको १२६ औं वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उनले समयानुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्दै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वका साथ काम गर्नुपर्ने जोड दिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले अब समस्या मात्रै औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको उल्लेख गरे । ‘आज भनेको भोलिको इतिहास हो । आज राम्रो काम गर्न सक्यौँ भने त्यसले भोलिको मार्गनिर्देशन गर्छ । आफूले काम गरिरहेका संस्था गर्व गर्न लायक हुने बनाउन कर्मचारीहरूले पनि उच्च मनोबलका साथ सक्रीयता देखाउनुहोला,’ सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने ।

उनले सार्वजनिक संस्थानलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सुधार अपरिहार्य रहेको बताउँदै सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभावसँगै गोरखापत्र संस्थानको पुनर्संरचना आवश्यक भएको धारणा राखे ।

गोरखापत्रको लामो इतिहास स्मरण गर्दै उनले पत्रकारिताको शैली, तौरतरिका र प्रविधिमा व्यापक परिवर्तन आइसकेको उल्लेख गरे । बदलिँदो समयअनुसार गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक र प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए ।

नेपालको भाषिक विविधताले देशलाई समृद्ध बनाएको उल्लेख गर्दै उनले त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्ने बताए । साथै, सञ्चारमाध्यमले नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा पनि उनले जोड दिए । मन्त्री तिमिल्सिनाले नागरिकले तिरेको करबाट सार्वजनिक संस्था सञ्चालन हुने भएकाले नागरिकको हितमा काम गर्नु सबैको प्रमुख दायित्व भएको बताए ।