२४ बैशाख २०८३, बिहिबार 1778174806
समाचार

सरकारी बैंकको अध्यक्ष र सञ्चालकद्वारा धमाधम राजीनामा

काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकमा प्रतिनिधित्व गरेका सञ्चालकले राजीनामा दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको सञ्चालक समितिमा सरकारले नियुक्त गरेका वा सरकारको तर्फबाट सञ्चालक बनेका अध्यक्ष तथा सञ्चालकहरुले राजीनामा दिएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकालले बुधबार नै राजीनामापत्र बुझाएको बताए । सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ । उनीसँगै अन्य सञ्चालकहरुले समेत बुधबार नै राजीनामा दिएका छन् ।

उता कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र सञ्चालक रहेकाहरुले बुधबार नै राजीनामा बुझाएका छन् । बैंकका कम्पनी सचिव हिमलाल पौडेलले अध्यक्ष लगायत अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व भएका सञ्चालकहरुले राजीनामा दिएको जानकारी दिए ।

साधारण सेयर जारी गरेका बैंकमा शेयरधनीको तर्फबाट नियुक्त भएका र स्वतन्त्र सञ्चालकले भने राजीनामा दिएका छैनन् । सरकारले अध्यादेशमार्फत् १५९४ जनालाई पदमुक्त गरे पनि नेपाल राष्ट्र बैंक एवं बैंक तथा वित्तीय संस्थालाई यसले छोएको थिएन ।

अर्थ मन्त्रालयले ती बैंकका अधिकारीहरुलाई राजीनामा दिन सन्देश पठाएको थियो । नेपाल बैंकका सञ्चालकहरुको भने राजीनामा आइसकेको छैन । यद्यपि उनीहरुले समेत राजीनामा दिने प्रतिवद्धता जनाइसकेको बताइएको छ ।