२९ बैशाख २०८३, मंगलबार 1778586650
समाचार

सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवको नेतृत्वमा र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक रामवली साहको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो ।

प्रहरीका अनुसार गाडीमा चालकसहित ११ जना सवार थिए । तीमध्ये ९ जना भारतीय नागरिक र चालकसहित २ जना नेपाली नागरिक रहेका थिए । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारत बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी गम्भीर घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

यस्तै, ५६ वर्षीया प्रझा देवीको बायाँ हातमा, ५२ वर्षीया रुद्रकुमारी झाको दाहिने खुट्टामा तथा ७४ वर्षीय छत्रधर चौधरीको दुवै हातमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ६७ वर्षीय हम्रानाथ झा, ६६ वर्षीय अमरनाथ झा र ४२ वर्षीया अनिता झा सामान्य घाइते भएका छन् । घाइते सबैलाई प्रारम्भिक उद्धारपछि बी एण्ड बी अस्पताल काठमाडौँ पठाइएको थियो । पछि उनीहरूलाई अल्का अस्पताल ललितपुरमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन् । गाडीमा सवार अर्का नेपाली नागरिक २२ वर्षीय असान साफि भने सामान्य अवस्थामा आफैं घर फर्किएको प्रहरीले जनाएको छ ।