१ जेष्ठ २०८३, शुक्रबार 1778872478
Banner

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरी जारी गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहेका मन्त्री खड्कराज पोडेल (गनेस)ले नयाँ नियमावली जारी गरेका हुन् ।

कोषको नयाँ नियमावलीानुसार कार्यकारी निर्देशकको पद हटाइएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए । कोषमा ऐनले कार्यकारी अधिकार दिएको सदस्यसचिवको व्यवस्था छ । तर, वसन्त चौधरी सदस्यसचिव भएका बेला नियमावलीमा संशोधन गरी कार्यकारी निर्देशकको व्यवस्था गरिएको थियो ।

०६० सालमा उक्त व्यवस्था गरिएपछि पहिलो कार्यकारी निर्देशकका रूपमा सरकारका उपसचिव रामशरण चिमौरियालाई तोकिएको थियो । उनको कार्यकालपछि पुरातत्त्व विभागको महानिर्देशकबाट सेवानिवृत्त भएका कोषप्रसाद आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।

आचार्यपछि कोषकै निर्देशक रमेश उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । उप्रेतीपछि डा. घनश्याम खतिवडा कार्यकारी निर्देशक बनेका थिए । खतिवडापछि कार्यकारी निर्देशक बनेकी लक्ष्मी पुनका विषयमा विवाद भएपछि अदालतबाट हटाइएको थियो ।

पुनपछि सुभासचन्द्र जोशी कार्यकारी निर्देशक नियुक्त भएका थिए । कोषको नयाँ नियमावली जारी भएसँगै बहाल रहेकै अवस्थामा जोशीलाई पनि हटाइएको जनाइएको छ ।

०६० पछि कोषको कार्यकारी निर्देशकमा ६ जनाले काम गरेपश्चात् यो पद नै नरहने व्यवस्था गरिएको छ । रासस